Friday, November 11, 2011

त्रिभुवनसँगका रोचक प्रसंग

घटना मातृकाबाबु प्रधानमन्त्री हुँदाको हो । पूर्वराजा ज्ञानेन्द्रकी आमाको विवाह श्री ५ महेन्द्रसँग भएपछि कारणवश उनको मृत्यु भयो । तत्पश्चात् श्री ५ महेन्द्रले स्वर्गीय महारानीकै बहिनी रत्नसँग प्रेम भएको हुनाले बिहे पनि उसैसँग गर्छु भन्ने अठोट गरेका थिए । यता त्रिभुवनचाहिँ त्यो घरमा वा त्यस केटीसँग बिहे नहोस् भन्ने चाहन्थे । उनले छोरालाई सम्झाए । भने, "हाम्रो पनि त कतिसँग प्रेम भयो होला, के तिनलाई बिहे गरेर साध्य हुन्छ । अथवा, ल प्रेम भयो भने ठीकै भयो, बिहे गर तर राजगद्दीमा राख्ने टाइपकी अर्की मैले रोजेकी केटीसँग बिहे गर ।"

तर, राजा महेन्द्र टसका मस भएनन् । यस विवाहमा राजा त्रिभुवन र उनकी रानीको घनघोर विमति थियो । यस कुरालाई साम्य पार्न, मातृकाप्रसाद, सूर्यप्रसाद आदि गएका थिए तर उनीहरूले समाधान दिन सकेनन् । महेन्द्रकी आमाले त केसमेत भन्न भ्याइन् भने यदि महेन्द्रले रत्नसँग विवाह गर्‍यो भने उसले राजगद्दी नै त्याग्नुपर्छ । यस्तो कुरा सुनेपछि मातृका, सूर्यप्रसादलाई आश्चर्य लाग्नु त स्वाभाविक थियो । तर, महेन्द्रले मानेनन् । उनले पनि अड्डी नै लिए र केही मानिस लिएर नागार्जुनमा गई रत्नसँग विवाह गरे ।

बाहिरबाट हेर्दा मात्रै हो दरबारयिा शानशौकत तर भित्री रूपमा तिनीहरू अत्यन्त पीडित हुन्छन् । मैले त त्यस्तो नै सोच्ने गरेको छु र वास्तविकता पनि यही नै हो । जब मैले ती सब कुरा थाहा पाएँ अनि मैले राजा त्रिभुवनलाई यो त राम्राे भएन । युवराजलाई राजगद्दीबाटै बेदखल गर्ने कुराले त सरकारको इज्जत-प्रतिष्ठामा आँच पुर्‍याउँछ भनेपछि सो विवाहप्रति अनिच्छुक हुँदाहँुदै पनि त्यस हदसम्म नजाने सोचचाहिँ बनाए । तर, त्यो विवाहमा आफू कतै संलग्न भएनन् । राजहठ भनेको सायद यही र यस्तै होला ।

राजा त्रिभुवनसँग बेलाबेला हँसीमजाक पनि हुन्थे । उनी धेरैजसोलाई तपाइर्ं भनेर बोलाउँथे । तर, मलाई भने तिमी नै भन्थे । यसको रहस्य मैले बुझेको थिएँ र मलाई एक किसिमको आनन्द पनि आउँथ्यो । राजा त्रिभुवनलाई के भएछ कुन्नि मलाई सोधे, "होरा, मैले तिमी भनेँ भनेर रसिाउँछौ कि ?" त्यो सोधाइमा एक किसिमको आत्मीयता निहित डर पनि थियो । मलाई त्यो रहस्य थाहा थियो, त्यो के भने राजा त्रिभुवनले आफ्ना निकटवर्तीहरूलाई मात्र तिमी भन्छन् भन्ने । अतः मैले तुरुन्त उत्तर दिएँ, म नेवारी संस्कृतिको मान्छे । नेवारहरू थकाली मान्छन् । थकाली भनेको आफूभन्दा जेठोले आफूभन्दा कान्छोलाई तपाईं भन्यो भने त्यो एक किसिमको सजायजस्तै हुन्छ । यसबारे मैले युधिष्ठिर र अर्जुनका बीचको कथा पनि भनेँ । मैले भनेँ, "सरकार ! सरकार त मभन्दा जेठो पनि होइबक्सन्छ र हाम्रा राजासमेत होइबक्सन्छ । हाम्राे समाजमा जेठाले कान्छालाई तपाईं भन्न त मिल्दै मिल्दैन । तसर्थ, सरकारले निसंकोच मलाई तिमी भनेर बोलाउनुपर्छ । यो मेरो संस्कृति अनुसार पनि सुहाउने कुरा हो ।" यति भनेपछि त्रिभुवन मसँग अरू बढी प्रभावित पनि भए । उनले भने, "तिमी त अध्ययनशील पनि रहेछौ, कहाँकहाँ महाभारतका कथा ल्याएर पनि सुनायौ, म तिमीसँग गौरवान्वित छु ।" त्यसपछि त राजाले कुनै पनि अवसरमा मलाई बोलाउन छुटाएनन् । यसै क्रममा एक दिन के भयो भने, राजाले मलाई चुरोट खाने भनेर सोधे । मैले हुन्छ सरकार भनेँ । राजा त्रिभुवनले सिगरेट केस अफर गरे । राजाको सिगरेट केसबाट सिगरेट झिक्ने होसै भएन मेरो त, म त अकमक्क परेँ । मेरो त्यो अकमक्याइँ देखेर राजा त्रिभुवनले भने, "के हो होरा, वीरगन्ज, भैरहवा, ठोरी आदि कब्जा गर्ने मानिसले मेरो सिगरेट केसको एउटा सिगरेट पनि कब्जा गर्न नसक्ने ?" यसरी राजाको हाँसो र उत्तेजनायुक्त उक्त बोलीले मलाई राजाप्रति झनै श्रद्धा जागृत भयो । मैले विनम्र भावले एउटा सिगरेट झिकेँ । अनि, मैले नै लाइटर बाल्न खोजेँ तर राजा त्रिभुवनले मैले बाल्छु भने । मलाई भने राजाद्वारा चुरोट बालिनु राम्रो होइन जस्तो लागेको थियो र त्यही भावना अनुसार मैले त्रिभुवन सरकारलाई मैले नै बाल्छु भन्ने अठोट दोहोर्‍याएँ । अनि, राजाबाट मलाई सम्झाउने काम भयो । राजा त्रिभुवनले भने, "ए होरा ! तिमीसँग धेरै कुरा गर्न बाँकी छ तर आज शिष्टाचारको कुरा तिमीलाई म सिकाइहाल्छु । कुरा के हो भने जसले चुरोट अफर गर्छ, त्यो चुरोट बाल्नु पनि उसैले पर्छ, यो शिष्टाचार हो । यस्ता कुरा तिमीले बुझ्नुपर्छ । तिमी त मेरो मान्छे, यस्तो बुझेनौ भने मेरो इज्जत जान्छ ।"

यस्ता कुरा पनि राजा त्रिभुवनले मलाई अत्यन्त आत्मीयताका साथ सिकाउँथे । यसरी शिष्टाचारको परपिालन हुनुपर्छ भनी एक पत्रिकाको लेखमा यस्तो कुरा उल्लेख छ भन्ने कुरा उनले मलाई जानकारी गराए । म पनि अध्ययन गर्ने मान्छे थिएँ तर मलाई यस्ता कुराचाहिँ थाहा थिएनन् । यसरी खास गरी मप्रति राजा त्रिभुवनको विश्वास पनि थियो र माया पनि थियो । हामी राजनीतिक मान्छे के कस्ता मान्छेसँग बोल्न, चल्न पर्छ, यदि यस अनुसारको शिष्टाचार थाहा भएन भने नेपाल र नेपालीकै इज्जत जान्छ भन्ने भावना थियो राजा त्रिभुवनमा । यसरी नै राजा त्रिभुवनले सामान्यभन्दा सामान्य र विशेषभन्दा विशेष कुरा मलाई बताउँथे र मसँग पनि सरसल्लाह लिइरहन्थे ।

(नेपाल को चर्चित साप्ताहिक पत्रिका नेपाल बाट साभार)

1 comment: